काठमाडौँ । विश्व सामाजिक न्याय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। समाजमा विद्यमान असमानता, विभेद, गरिबी, बेरोजगारी तथा बहिष्करणजस्ता समस्यालाई न्यूनीकरण गर्ने लक्ष्यसहित संयुक्त राष्ट्रसङ्घ को महासभाले सन् २००७ नोभेम्बर २६ मा प्रस्ताव पारित गरेपछि सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउन थालिएको हो।
सामाजिक न्यायको अवधारणाले जाति, लिङ्ग, धर्म, रंग, अपाङ्गता वा सामाजिक,आर्थिक अवस्थाका आधारमा हुने कुनै पनि भेदभावलाई अस्वीकार गर्दै सबै नागरिकलाई समान अवसर र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन का अनुसार निष्पक्षता, समानता र आफ्नो जीवनको दिशा निर्धारण गर्ने अधिकारको सुनिश्चितता नै सामाजिक न्यायको मूल आधार हो।
शान्ति, स्थायित्व र समृद्धिको आधारका रूपमा सामाजिक न्यायलाई हेरिए पनि विश्वका धेरै मानिस अझै विभेद, शोषण र अवसरबाट वञ्चित छन्। यस दिवसले सरकार, संघसंस्था तथा नागरिक समाजलाई समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ सक्रिय हुन प्रेरित गर्दछ।
नेपालमा पनि सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। नेपाल सरकार, स्थानीय तह तथा अन्तर्राष्ट्रिय संस्थाहरूले महिला, बालबालिका, युवा र विपन्न समुदायको अधिकार संरक्षण, वातावरणीय संरक्षण तथा समान अवसर सुनिश्चित गर्न पहल गर्दै आएका छन्।
यस दिवसले न्याय, समानता र मर्यादित जीवन सुनिश्चित गर्न सबै पक्षबीच सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश पुनः स्मरण गराएको छ।