निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सीमा नाका ७२ घण्टा बन्द गरिने

0 Shares

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल–भारत सीमा क्षेत्रका नाका ७२ घण्टाका लागि बन्द गर्ने सहमति भएको छ।

कोशी प्रदेशसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको बैठकले मतदानअघि ७२ घण्टा सीमा आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ। यस अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लगाइनेछ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार नेपाली पक्षले निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारी साधन प्रवेश रोक्न भारतीय सुरक्षा निकायसँग सहयोग पनि मागेको छ।

बैठकमा सीमा क्षेत्रमा संयुक्त गस्ती कडाइ गर्ने र तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता सीमापार अपराध नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन्।

निर्वाचन अवधिमा सीमा व्यवस्थापन कडाइ गरिँदा सुरक्षा सुदृढ हुनुका साथै अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचारसबै