निर्वाचनका लागि स्रोत अभाव हुन दिइँदैन : अर्थमन्त्री खनाल

0 Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोत–साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा बोल्दै उनले सरकारको ध्यान निर्वाचनलाई व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गराउनेतर्फ केन्द्रित रहेको बताए। कार्यक्रम नेपाल पर्यटन बोर्ड र परिसूचक मिडिया को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

अर्थमन्त्री खनालले अब देशलाई आर्थिक एजेन्डामा केन्द्रित गर्ने समय आएको उल्लेख गर्दै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै ठूलो चुनौती भएको बताए। उनले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकारसमेत गरे।

देशको अर्थतन्त्र उकास्न सरकारले विभिन्न नीतिगत सुधार अघि बढाइरहेको जानकारी दिँदै उनले पर्यटन, लगानी र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक गतिविधि विस्तार गर्ने प्रयास भइरहेको बताए।

उनले निर्वाचनको सफल आयोजना र आर्थिक स्थायित्व सुदृढीकरणलाई सरकारको समान प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे।

सम्बन्धित समाचारसबै