विराटनगर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपाल को सहयोगमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा वक्ताहरूले निर्वाचनको स्वच्छता कायम गर्न पत्रकारको भूमिका विशेष महत्वपूर्ण हुने बताएका हुन्।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली ले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको संरक्षणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको स्वच्छता कायम गर्न सबै सचेत हुनुपर्ने बताए। उनले समाजमा भ्रम फैलाउने तथा सामाजिक एकता कमजोर बनाउने प्रवृत्तिविरुद्ध जिम्मेवार पत्रकारिताले सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिए।
वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चार माध्यम र सञ्चारकर्मीले सत्य, सन्तुलित र विश्वसनीय सूचना प्रवाह गरी मतदातालाई सुसूचित बनाउनुपर्ने धारणा राखे।
महासङ्घका कोशी प्रदेश अध्यक्ष भरत खड्का ले दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता तथा निर्वाचन अवधिमा सञ्चारकर्मीले पालना गर्नुपर्ने नैतिक आचरणबारे विस्तृत छलफल गरिने जानकारी दिए।