निर्वाचन सुरक्षाप्रति प्रधानमन्त्री कार्कीको चिन्ता, सम्भावित जोखिम सामना गर्न उच्च सतर्कताको निर्देशन

0 Shares

काठमाडौँ । सुशीला कार्की ले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्व तथा हिमाली क्षेत्रमा, विशेषगरी रुकुम पूर्वमा हुन सक्ने सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौतीहरूले निर्वाचन प्रक्रियामा असर पार्न सक्ने बताइन् ।

देशका विभिन्न जिल्लामा देखिएका स्थानीय समस्याहरू उल्लेख गर्दै उनले तराई क्षेत्रमा राजनीतिक दलहरूबीचको तीव्र प्रतिस्पर्धा झडपमा परिणत हुन सक्ने आशंका व्यक्त गरिन् । केही स्थानमा दलका झण्डा जलाउनेजस्ता उच्छृङ्खल गतिविधिका रिपोर्ट प्राप्त भएको बताउँदै उनले यस्ता घटनाले निर्वाचन अवधिमा तनाव बढाउन सक्ने भएकाले पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन् ।

निर्वाचन बहिष्कारको घोषणा गर्ने समूहहरूबारे टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले तिनको प्रभाव कमजोर रहेको दाबी गरिन् । कतिपय समूहले बहिष्कारलाई आफ्नो अस्तित्व देखाउने र चन्दा सङ्कलन गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ । व्यापार वा उद्योगको आवरणमा राजनीतिक गतिविधि सञ्चालन गर्ने प्रवृत्तिप्रति सुरक्षा निकाय सचेत रहनुपर्ने उनले उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमको सामना गर्न आवश्यक तयारी गर्न निर्देशन दिएकी छन् ।

सम्बन्धित समाचारसबै