सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस का कार्यकर्ताबीच सुनसरी क्षेत्र नम्बर ४ मा हिंसात्मक झडप भएको छ । शनिबार भोक्राहा नरसिङ गाउँपालिका–४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा अवरोध भएपछि स्थिति तनावपूर्ण बनेको हो ।
प्रत्यक्षदर्शीका अनुसार बाटोमा केही युवाहरूले कांग्रेस टोलीलाई लक्षित गर्दै विवाद सुरु गरेपछि स्थिति चर्किएको थियो । त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच हात हालाहाल र कुटाकुट सुरु भएको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको छ ।
सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपा कार्यकर्ताबीच विवाद बढ्दै झडपमा परिणत भएको हो । उनका अनुसार छिमेकी बस्तीका कार्यकर्ताबीचको विवाद चर्किएपछि स्थिति नियन्त्रण गर्न प्रहरी हस्तक्षेप आवश्यक भएको थियो ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको र सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको जनाइको छ ।