काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चुनावी सुरक्षालाई थप सुदृढ बनाउने निर्णय गरेको छ।
गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले विद्यमान सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकाय परिचालन भइसकेका छन्। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले कर्मचारी परिचालन, व्यवस्थापन तथा तयारीबारे ब्रिफिङ दिएका थिए।
यसैबीच मन्त्रालयले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा असर पुर्याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभिन्न धर्म, जातजाति, वर्ग वा समुदायबीच वैमनस्यता फैलाउने, हिंसा भड्काउने वा घृणा उत्पन्न गर्ने कार्य कानूनतः दण्डनीय हुने चेतावनी दिँदै यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी बढाइएको जनाएको छ।
विशेष गरी रौतहट, दाङ तथा तराई मधेशका केही जिल्लामा आगजनी, तोडफोड, राजनीतिक दलका झण्डा जलाउनेजस्ता घटनाले सामाजिक सद्भावमा असर पुगेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।
मन्त्रालयले सबै धर्म तथा समुदायबीच आपसी सम्मान र सहिष्णुता कायम राख्न तथा कानूनविपरीत गतिविधि नगर्न सबै पक्षसँग अपिलसमेत गरेको छ।