निर्धारित समयमै निर्वाचन गर्न ओलीको आग्रह

0 Shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेकाले निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने बताएका छन्। निर्वाचन स्थगित गर्न विभिन्न शक्तिकेन्द्रबाट प्रयास भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अन्योलमा नपरी चुनावी तयारीमा केन्द्रित रहेको स्पष्ट पारे।

अध्यक्ष ओलीले निर्वाचन तयारीमा राज्य तथा उम्मेदवारहरूको ठूलो आर्थिक लगानी भइसकेको उल्लेख गर्दै अब चुनाव टार्ने कुरा उपयुक्त नहुने बताए। उनले विगत छ महिनासम्म निर्वाचन गराउन पहल गर्दा पर्याप्त चासो नदिइएको तर अन्तिम समयमा आएर निर्वाचन नहुने भन्नु गलत भएको टिप्पणी गरे।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कडा आलोचना पनि गरे। उनले उक्त दललाई आधारहीन “जोडजामवाला पार्टी”को संज्ञा दिँदै चुनाव जित्न नसकिने देखेपछि झण्डा जलाउने, विवाद सिर्जना गर्ने र चुनावी वातावरण बिथोल्ने गतिविधि भइरहेको आरोप लगाए।

देशको सार्वभौमसत्ता र समृद्धिका लागि एमालेको विजय आवश्यक रहेको दाबी गर्दै उनले कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्।

सम्बन्धित समाचारसबै