निर्वाचन विथोल्ने गतिविधिमाथि गृह मन्त्रालयको कडा निगरानी

0 Shares

काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षा कमजोर पार्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले कडा चेतावनी दिएको छ। चुनाव विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा तथा गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा हिजो बसेको उच्चस्तरीय बैठकले देशभरको शान्ति सुरक्षा अवस्था, निर्वाचन तयारी तथा देखिएका समसामयिक चुनौतीबारे विस्तृत समीक्षा गरेको हो।

बैठकमा पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा देखिएका चुनाव विरोधी गतिविधिप्रति गम्भीर चासो व्यक्त गरिएको मन्त्रालयले जनाएको छ। राजनीतिक दल तथा उम्मेदवारविरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने जस्ता गतिविधिले समग्र शान्ति व्यवस्था र निर्वाचन वातावरणमा नकारात्मक असर पारिरहेको निष्कर्ष बैठकले निकालेको छ।

मन्त्रालयका अनुसार कानुनले निषेध गरेका यस्ता कार्यमा संलग्न जोकोहीलाई पनि छुट नदिई कानुनी कारबाही अघि बढाइनेछ। साथै, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायलाई सतर्क र सक्रिय रहन निर्देशन दिइएको छ।

सम्बन्धित समाचारसबै