निर्वाचन आयोगद्वारा तीन दिन सार्वजनिक बिदा सिफारिस

0 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यले निर्वाचन आयोग नेपालले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको हो। गोरखापत्र संस्थानद्वारा आयोजित निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसम्म बिदा दिँदा मतदाताको उपस्थिति उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।

उनका अनुसार रोजगारी, अध्ययन वा व्यवसायका कारण आफ्नो मतदाता नामावली रहेको स्थानभन्दा टाढा बसोबास गर्ने नागरिकलाई मतदान स्थलसम्म पुग्न सहज बनाउन यो सिफारिस गरिएको हो।

यसैबीच फागुन १८ गते पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा पर्ने फागु पूर्णिमा (होली) पर्वका कारण पहिले नै सार्वजनिक बिदा रहेको छ। त्यसपछि थप तीन दिन बिदा भएमा मतदातालाई आवतजावत र मतदानमा सहभागी हुन थप सुविधा पुग्ने अपेक्षा गरिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचारसबै