रौतहटमा कर्फ्यू हट्यो, वीरगञ्जमा झडपपछि अनिश्चितकालीन निषेधाज्ञा लागू

0 Shares

काठमाडौँ । रौतहट जिल्लामा लगाइएको कर्फ्यू हटाइएको छ भने वीरगञ्ज महानगरपालिकामा झडपपछि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यू आज बिहान १० बजेदेखि हटाइएको हो। एक विवाह समारोहमा डिजे बजाउने विषयबाट सुरु भएको विवाद दुई समुदायबीच झडपमा परिणत भएपछि प्रशासनले कर्फ्यू जारी गरेको थियो। आज बिहान स्थानीयवासीले सद्भाव र्‍याली निकाल्दै शान्ति कायम गर्ने सन्देश दिएका छन्। प्रशासनले क्षेत्रको शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच पर्सा जिल्ला प्रशासनले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। वडा नं. ११ श्रीपुर क्षेत्रमा सवारी पार्किङको विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेपछि सुरक्षा निकाय परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेका थिए।

आज बिहानैदेखि पुनः नारा जुलुस सुरु भएपछि स्थानीय प्रशासनले बिहान करिब ९:४५ बजेदेखि कर्फ्यू लागू गरेको हो। निषेधाज्ञा क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

पर्सा प्रशासनले अफवाहमा विश्वास नगर्न, संयमित रहन र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणसँग अपिल गरेको छ।

सम्बन्धित समाचारसबै