काठमाडौं । फागुन २१ गते नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन निर्वाचन आयोग नेपालले चुनाव प्रचारको शैलीमा थप कडाइ गरेको छ। आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको हो।
आयोगका अनुसार धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिह्न बोकी हिँड्ने तथा सार्वजनिक रूपमा प्रदर्शन गर्ने अभ्यासबारे गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो। यस्ता सामग्रीले सार्वजनिक शान्ति र सुरक्षामा जोखिम निम्त्याउन सक्ने निष्कर्ष आयोगले निकालेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड ९ (ड) अनुसार तोकिएको मापदण्डभित्र रहेर मात्र दलको झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ। कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका चिह्न प्रयोग गर्न भने अनुमति रहेको स्पष्ट पारिएको छ।
मापदण्डविपरीत भौतिक सामग्री प्रयोग गरेको पाइएमा आचारसंहिता उल्लङ्घनअन्तर्गत कारबाही हुने चेतावनी आयोगले दिएको छ। यस निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिह्न ‘घण्टी’ बजाउँदै भोट माग्ने अभ्यास गर्न नपाउने भएको छ। यसअघि रास्वपाका उम्मेदवारहरूले प्रचारका क्रममा प्रतीकात्मक रूपमा घण्टी बजाउने शैली अपनाउँदै आएका थिए।
आयोगले सबै दल तथा उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै स्वच्छ, मर्यादित र सुरक्षित निर्वाचन वातावरण कायम गर्न यस्तो कडाइ आवश्यक भएको जनाएको छ।