मोरङको कृषि फार्ममा आगलागी, ११ लाख बराबरको क्षति

0 Shares

विराटनगर । मोरङ जिल्लाको रंगेली नगरपालिका २ मंगलबारेस्थित एक कृषि फार्ममा सोमबार बिहान आगलागी हुँदा करिब ११ लाख  बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार टिकुमाया अधिकारीको नाममा दर्ता रहेको उक्त फार्म जीवन अधिकारीले सञ्चालन गर्दै आएका थिए। बिहान करिब ५:४५ बजेतिर टिनको छानो र बाँसको टाटीले बनेको भुइँतले संरचनामा आगो लागेको थियो। आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको बताइएको छ।

दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा फार्मभित्र रहेका तीन वटा खसी मरेका छन् भने धान, कोदो, मकै, गहुँ, काठपात तथा युरिया र डीएपी मल पूर्ण रूपमा नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीको कारण अझै स्पष्ट भइसकेको छैन। विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै