धादिङ बस दुर्घटना : गृहमन्त्री अर्यालको उच्चस्तरीय बैठक

0 Shares

काठमाडौँ । धादिङ जिल्लामा राति भएको दुःखद बस दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ।

बैठकमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरू सहभागी थिए। बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बैठकले घाइतेको उपचार प्राथमिकतामा राख्दै प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ। साथै यातायात क्षेत्रको नियमन प्रभावकारी बनाइने, नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने निर्णय पनि भएको छ।

गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन, दुर्घटनाका दोषिलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले भने, “सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याई गरिनु हुँदैन। कसैलाई पनि दण्डहीनता क्षम्य हुनेछैन। सडक सुरक्षालाई मजबुत बनाउन सबै निकाय जिम्मेवार भएर लाग्नुपर्छ। ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमन प्रभावकारी बनाइनेछ।”

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइतेको उपचारमा कुनै कमी नहोस् भनेर सम्बन्धित निकायलाई सचेत गराइएको बताए। बैठकले निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई जिम्मेवार बनाउने निर्णय गरेको छ।

घटना पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका–५, भंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। यसमा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

सम्बन्धित समाचारसबै