काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघले उक्त टिप्पणीलाई निर्वाचन आचारसंहिता विपरीत, असभ्य तथा उत्तेजक भएको ठहर गरेको हो।
फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा निर्माण कार्यमा हुने ढिलाइबारे टिप्पणी गर्दै शाहले “रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि बाटो बन्छ” भन्ने आशय व्यक्त गरेका थिए। महासंघका अनुसार यस्तो अभिव्यक्तिले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मनोबल कमजोर बनाएको छ। महासंघले शाहसँग सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गर्दै निर्वाचन आयोग लाई समेत यस विषयमा गम्भीर बन्न आग्रह गरेको छ।
पूर्वाधार क्षेत्रमा २५ लाखभन्दा बढीले रोजगारी पाइरहेको उल्लेख गर्दै महासंघले वि.सं. २०७३/७४ पछि सुरु भएका करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख आयोजनामध्ये ३० हजारभन्दा बढी योजना अलपत्र रहेको जनाएको छ। अव्यवहारिक नीति–नियम, कानुनी जटिलता तथा बजेट अभावका कारण मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङ मार्ग र काठमाडौं–तराई द्रुतमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलाइ भइरहेको महासंघको दाबी छ।
निर्माण उद्योग सुधारका लागि महासंघले ९ बुँदे माग अघि सारेको छ। ती मागमा निर्माण क्षेत्रका लागि एकीकृत ‘छाता ऐन’ निर्माण, कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्चमा विनियोजन, १५ प्रतिशतभन्दा बढी ‘लो बिडिङ’ रोक्ने व्यवस्था तथा उपभोक्ता समितिबाट हुने कामको सीमा १० लाख रुपैयाँमा सीमित गर्नुपर्ने प्रस्ताव समावेश छन्।
महासंघले निर्माण उद्योगमैत्री नीति र कानुनी सुधारका लागि सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै निर्माण क्षेत्रमा सुरक्षा र स्थायित्वको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ।