डिजिटल दुरुपयोग रोक्न नेपाल प्रहरीको ‘एआई सेल’ स्थापना

0 Shares

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट बढ्दो चुनौतीलाई नियन्त्रण गर्न नेपाल प्रहरीले ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ। सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक सामग्रीको निगरानी र व्यवस्थापन गर्ने उद्देश्यले उक्त सेल सञ्चालनमा ल्याएको हो।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना गरिएको सेलको उद्घाटन ओमप्रकाश अर्यालले गरेका छन्। उद्घाटनपछि उनले एआई सेलको कार्यक्षेत्र र भावी योजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मिथ्या सूचनाको नियमन गर्न र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्।

मन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि नियन्त्रणमा एआई सेल प्रभावकारी सावित हुने विश्वास व्यक्त गरे। उनका अनुसार डिजिटल युगमा सूचनाको तीव्र प्रवाहसँगै नकारात्मक असर पनि बढ्दै गएकाले प्रविधिको जिम्मेवार प्रयोग अपरिहार्य भएको छ।

प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिसइन्फर्मेसन’, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा एआईको दुरुपयोगमार्फत हुने डिजिटल हेरफेरबाट सिर्जित झुटा सामग्रीहरू अहिले साझा चिन्ताको विषय बनेको जनाएको छ। नयाँ सेलले यस्ता गतिविधिको पहिचान, विश्लेषण र नियन्त्रणमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ। -रासस

सम्बन्धित समाचारसबै