विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका अमन लाल मोदी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन्। वामपन्थी राजनीतिमा स्थापित छवि बनाएका मोदी यसपटक पनि आफ्नो प्रभाव कायम राख्ने दाउमा छन्।
२०७४ र २०७९ का निर्वाचनमा यही क्षेत्रबाट विजयी भइसकेका मोदीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ३० हजार ६ सय १२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४ हजार ४ सय ६३ मत ल्याएका थिए। यस परिणामले क्षेत्रमा मोदीको जनाधार बलियो रहेको संकेत दिएको थियो।
यसपटक पनि उनी घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातामाझ पुगिरहेका छन्। विकास निर्माण, सामाजिक न्याय र समावेशीतालाई प्राथमिकतामा राख्दै चुनावी रणनीति अघि बढाइएको उनको दाबी छ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा यस क्षेत्रअन्तर्गत (४–१) मा जयप्रकाश चौधरी १५ हजार ४ सय ६५ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी १५ हजार ५८ मतमा सीमित भएका थिए। उक्त नतिजाले पनि क्षेत्रको राजनीतिक प्रतिस्पर्धा झिनो अन्तरमा टुंगिने संकेत गरेको थियो।
यस क्षेत्रमा नेकपा (एमाले) का जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी का सन्तोष राजवंशी पनि चुनावी दौडमा छन्। बहुपक्षीय प्रतिस्पर्धाले यसपटकको चुनावलाई थप रोचक बनाएको छ।
स्थानीय तहको पछिल्लो मत परिणामअनुसार २३ मध्ये १८ वडामा एमाले विजयी भएको तथ्यले चुनावी समीकरण जटिल देखिन्छ। यद्यपि, थारु बाहुल्य क्षेत्र भएकाले मोदीको सामाजिक प्रभाव बलियो मानिन्छ।
मतदानका लागि ४० मतदान स्थल र १३१ मतदान केन्द्र तोकिएका छन्। गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका नमोनारायण माझी निर्वाचित भएका थिए, जसलाई क्षेत्रीय राजनीतिक सन्तुलनको संकेतका रूपमा हेरिएको छ।
मोरङ–४ मा यसपटक पनि अमनलाल मोदी आफ्नो जित दोहोर्याउने लक्ष्यसहित चुनावी मैदानमा केन्द्रित देखिएका छन्।