काठमाडौं । मन्त्रिपरिषद्ले निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याल ले घाइते सुरक्षाकर्मीको उपचार खर्च राज्यले बेहोर्ने र मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । साथै यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनका लागि गठित जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी को केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्म निरन्तरता दिने र उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिसबमोजिम दुई उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको कलंकीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजनासम्बन्धी सम्झौतामा उल्लेखित विषयमा कर छुट दिने निर्णय पनि गरिएको छ ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जनाएको छ ।