निर्वाचन अवधिभर मदिरा बिक्री सेवन निषेध

0 Shares

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै मतदानको मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको हो।

निर्वाचन आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले सुरक्षा योजना अन्तर्गत मदिरा निषेधको निर्णय कार्यान्वयनमा ल्याइएको हो। यो निर्णय निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकबाट भएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै थप व्यवस्थापनका निर्णयहरू पनि गरिएको आयोगले जनाएको छ।

यसैबीच, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध हुनेछ। गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई समेत सक्रिय बनाइ निषेधित गतिविधि हुन नदिन परिचालन गरिने जनाइएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १७ र १८ अनुसार प्रतिबन्धित कार्य भएमा तत्काल कानुनी कारबाही गरिनेछ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। उक्त निर्णय फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू रहनेछ।

अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन सञ्चालनमा रहने जनाइएको छ।

सम्बन्धित समाचारसबै