सुनसरी । समाजसेवा, मानवता र धार्मिक सहिष्णुतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मोरङ जिल्लाका करिम अन्सारीलाई सम्मान गरिएको छ। श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक संगठनले अन्सारीलाई सम्मान–पत्र प्रदान गर्दै उनको कार्यको उच्च प्रशंसा गरेको हो।
वराहक्षेत्र–९, चतराधामस्थित कार्यक्रम आयोजकका अनुसार अन्सारीले नेपाली मुस्लिम समुदायका जिम्मेवार नागरिकका रूपमा सामाजिक सद्भाव प्रवर्द्धनमा खेलेको भूमिकाको कदर गरिएको छ । विशेषगरी विभिन्न सामाजिक दुःखद् घटना तथा अप्ठ्यारो परिस्थितिमा निःशुल्क सवारी सेवा उपलब्ध गराई मानवीय सेवामा समर्पित रहेको भन्दै उनलाई सम्मान गरिएको हो।
ऐतिहासिक पूर्ण महाकुम्भ मेलाको अवसरमा चतराधाम आएका तीर्थयात्रीहरूलाई विराटनगरबाट निःशुल्क बस सेवा उपलब्ध गराई धार्मिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको कार्य प्रशंसनीय रहेको आयोजकले बताए। उक्त महाकुम्भ मेला अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको नेतृत्वमा सम्पन्न भएको थियो।
संस्थाका सचिव श्रीउद्धव शरण घिमिरे र संरक्षक अनन्तविभूषित जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजद्वारा हस्ताक्षरित सम्मानपत्रमार्फत अन्सारीको निस्वार्थ सेवा, उदारता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धताको सराहना गरिएको छ।
समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको भावनालाई सुदृढ बनाउन यस्ता कार्य प्रेरणादायी रहने विश्वास संस्थाले व्यक्त गरेको छ।