भौतिक संरचना बन्छन्, आमाको काख भरिँदैन : रवि लामिछाने

0 Shares

गोरखा । रवि लामिछानेले भदौ २३ गतेको घटनामा राज्य पक्षबाट अत्यधिक बल प्रयोग नभएको भए आगजनी र हिंसात्मक अवस्था सिर्जना नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गोली चलाइएको घटनाप्रति आक्रोश व्यक्त गरे।

उनले स्कुल ड्रेसमा रहेका बालबालिकासमेतलाई लक्ष्य गरेर गोली चलाइएको आरोप लगाउँदै सरकारको दमनकारी कदमकै कारण परिस्थिति बिग्रिएको बताए। “२३ गते गोली नचलेको भए कुनै पनि संरचना जल्ने थिएन,” उनले भने, “निर्दोष बालबालिकामाथि गोली नहानेको भए अवस्था यति भयावह बन्ने थिएन।”

लामिछानेले भौतिक संरचना पुनः निर्माण गर्न सकिने भए पनि राज्यको गोलीबाट सन्तान गुमाएका आमाको पीडा कहिल्यै मेटिन नसक्ने उल्लेख गरे। “जे जल्यो, त्यो फेरि बन्न सक्छ, तर रित्तिएको आमाको काख फेरि भरिन्न,” उनले भावुक हुँदै भने।

सभामा उनले आफू र आफ्ना उम्मेदवारहरू प्रश्नभन्दा माथि नरहेको उल्लेख गर्दै जहाँसुकैबाट उठ्ने प्रश्नको सामना गर्न तयार रहेको बताए। गोरखाबाट उम्मेदवार सुदन गुरुङलाई समर्थन गर्न आग्रह गर्दै उनले यसलाई व्यक्तिको जित मात्र नभई गोरखा र देशको सम्मानसँग जोडिएको विषय भएको बताए।

अफवाह र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै लामिछानेले गुरुङ देशप्रेमी र इमानदार गोरखाली भएको विश्वास व्यक्त गरे।

सम्बन्धित समाचारसबै