काठमाडौं । नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाउँदै त्यसलाई भूराजनीतिक चलखेलको रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त सामग्री सामान्य सञ्चार प्रस्तुति मात्र नभई नियोजित रणनीतिक प्रभावको अंश हुनसक्ने संकेत गरेका छन्। चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग हो वा सुनियोजित हस्तक्षेप, भन्ने प्रश्न उठाउँदै उनले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
उनका अनुसार नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य हुन सक्दैन। उनले लोकतन्त्रको रक्षा नेपाली जनताले स्वयं गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
सूचना स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै उनले समय, सन्दर्भ र उद्देश्यसमेत पारदर्शी हुनुपर्ने धारणा राखेका छन्। “भूराजनीतिक दबाब र प्रोपगान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ, सचेत बनौँ, तथ्य जाँचौँ र राष्ट्रिय हितको पक्षमा उभिऔँ,” उनले अपिल गरेका छन्।