बीबीसीको जेन–जी डक्युमेन्ट्रीमाथि आचारसंहिता उल्लंघनको आरोप, आयोगद्वारा कारबाही प्रक्रिया

0 Shares

 

काठमाडौं । निर्वाचन आयोगले जेन–जी आन्दोलन सम्बन्धी बीबीसी वर्ल्ड सर्भिसले प्रसारण गरेको डक्युमेन्ट्री निर्वाचन आचारसंहिता विपरीत रहेको निष्कर्ष निकालेको छ। बिहीबार साँझ बसेको आयोगको बैठकले उक्त सामग्रीबारे आवश्यक छानबिन र कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गर्ने निर्णय गरेको जनाएको छ।

बीबीसीले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएको बल प्रयोगबारे तयार पारेको डक्युमेन्ट्री प्रसारण गरेको थियो। सो सामग्रीमा २३ भदौ दिउँसो १२:४० बजे पी वान कलसाइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यु लागू भइसकेकाले बल प्रयोगका लागि थप आदेश आवश्यक नरहेको सन्देश दिएको उल्लेख गरिएको छ। पी वान नेपाल प्रहरीका महानिरीक्षकको कलसाइनका रूपमा चिनिन्छ।

आयोगले सोही बैठकबाट आचारसंहिता उल्लंघनका अन्य घटनामाथि पनि कारबाही गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार निकोलस भुसाल तथा श्रम संस्कृति पार्टीलाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

निर्वाचनको संवेदनशील समयमा प्रसारण सामग्री र उम्मेदवारहरूको गतिविधि आचारसंहिताअनुसार हुनुपर्नेमा आयोगले पुनः जोड दिएको छ।

सम्बन्धित समाचारसबै