विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक सडक किनारमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक सोही स्थानका अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब ११:३० बजे ठडिया चोकबाट झण्डै पाँच सय मिटर दूरीमा उनको शव भेटिएको हो। घटनास्थलको अवस्था हेर्दा सवारीसाधनको ठक्करबाट मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मोरङ प्रहरीका प्रवक्ता हरिनन्दन चौधरीका अनुसार शव दुवै खुट्टामा चोट लागेको अवस्थामा फेला परेको थियो। परिवारमा एक्लै बस्दै आएका भुजेल प्लास्टिक, बोतल तथा कागज संकलन गरी कबाडीमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए।
दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ भने खोजी कार्य तीव्र बनाइएको छ।
घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्ने जनाएको छ।