काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस वर्षको होली पर्व संयमित र जिम्मेवार रूपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
जारी सूचनामा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार परिवारजन र साथीभाइसँग आफ्नै घर परिसरभित्र होली मनाउन कुनै रोक नहुने स्पष्ट गरिएको छ। तर खुला सडक तथा सार्वजनिक स्थलमा अनावश्यक भीडभाड नगर्न र जाँड–रक्सीको बिक्री तथा वितरण नगर्न आग्रह गरिएको छ।
प्रशासनले निर्वाचन आचारसंहिताको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउँदै जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारका चुनाव चिह्न, झण्डा, स्टिकर अंकित टोपी, टी–शर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरेको छ।
होलीका नाममा कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने तथा होहल्ला वा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने प्रशासनको चेतावनी छ।
यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते र तराई–मधेशका जिल्लामा फागुन १९ गते होली पर्व परेको छ।