चीनले आगामी साता सुरु हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि १९ जना अधिकारीलाई राष्ट्रिय जन कांग्रेस (एनपीसी)को सांसद सूचीबाट हटाएको छ। बीबीसीका अनुसार एनपीसीको स्थायी समितिले सेनाका नौ जना सहित १९ अधिकारीलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको हो।
हटाइनुको आधिकारिक कारण भने खुलाइएको छैन। यो निर्णय राष्ट्रपति सी जिनपिङले आफ्ना निकट सैन्य सहयोगी तथा वरिष्ठ जनरल झाङ युसियालाई पदमुक्त गरेपछि आएको हो।
राज्य सञ्चारमाध्यमका अनुसार सूचीबाट हटाइनेमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) ग्राउन्ड फोर्सका कमान्डर ली किआओमिङ र पूर्व नौसेना कमान्डर शेन जिनलोङ पनि परेका छन्।
सत्तामा आएयता राष्ट्रपति सीले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्दै आएका छन्। उनले भ्रष्टाचारलाई कम्युनिस्ट पार्टीका लागि “सबैभन्दा ठूलो खतरा” भन्दै नियन्त्रण अभियानलाई प्राथमिकता दिएका छन्। तर आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीलाई किनारा लगाउने माध्यमका रूपमा पनि व्याख्या गर्ने गरेका छन्।
मार्च ४ देखि ११ सम्म बेइजिङमा सञ्चालन हुने बैठकमा सरकारले नयाँ पञ्चवर्षीय योजना सार्वजनिक गर्ने तयारी गरेको छ। साथै प्रमुख नीतिगत प्राथमिकता र वार्षिक आर्थिक लक्ष्यहरूको रूपरेखा पनि प्रस्तुत गरिने बताइएको छ।