बुटवल । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मुलुक निर्माण कुनै एक व्यक्तिको प्रयासले सम्भव नहुने बताउँदै सहकार्य, प्रणाली र सामूहिक नेतृत्व आवश्यक पर्ने बताएका छन्।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले “एक्लै देश बनाउँछु” भन्ने सोच व्यवहारिक नभएको उल्लेख गरे। लोकतन्त्रमा कुनै पनि व्यक्तिलाई देवता वा राक्षसको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति राष्ट्रका लागि हानिकारक हुने उनको धारणा थियो।
उनले मुलुकलाई सही दिशामा लैजान प्रणाली सुदृढ बनाउनु आवश्यक रहेको बताए। संविधानअनुसार नचलिरहेका विषयलाई प्रणालीभित्र ल्याउन संशोधन आवश्यक पर्न सक्ने उल्लेख गर्दै त्यसका लागि सबै दलबीच सहमति र सहकार्य अनिवार्य हुने बताए। “मात्र म राम्रो, अरू सबै खराब भन्ने प्रवृत्तिले देशलाई गम्भीर दुर्घटनातर्फ धकेल्न सक्छ,” उनले चेतावनी दिए।
थापाले मुलुकको विकासका लागि गति मात्र होइन, सकारात्मक भावना र प्रतिबद्धता पनि आवश्यक पर्ने बताउँदै नेपाली कांग्रेस ‘स्पिरिट’ र ‘स्पिड’ दुवैसहित अघि बढेको दाबी गरे। आगामी पाँच वर्षमा देशले गति लिने विश्वास व्यक्त गर्दै सबैलाई सहकार्यको एउटै यात्रामा सहभागी गराउन चाहेको उनले बताए।
उनले बुटवललाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशका जिल्लाहरूको समग्र विकास आवश्यक रहेको उल्लेख गरे। बुटवलमा पूर्वाधार विकास भए पनि जनसंख्या स्थायित्व कायम गर्न नसकेको भन्दै आसपासका जिल्लामा रोजगारी र अवसर सिर्जना गर्ने योजनाको आवश्यकता औँल्याए।
सामाजिक सञ्जाल र मोबाइलबाट फैलिने भ्रामक सूचनाबाट सचेत रहन आग्रह गर्दै उनले उत्तेजनात्मक राजनीतिमा नबहकिन मतदातालाई अपिल गरे।
शुक्रबार बिहान सर्लाहीबाट हेलिकप्टरमार्फत बुटवल पुगेका थापाले त्यहाँको सभालाई सम्बोधन गरेपछि लुम्बिनी, कपिलवस्तुको गोरुसिङ्गे, पर्वत र कास्कीका कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।