आचारसंहिता उल्लंघनका १,०७६ उजुरी, ९९ प्रतिशत फछर्यौट

0 Shares

काठमाडौँ । निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघनसम्बन्धी परेको अधिकांश उजुरी टुंग्याइएको जनाएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति तथा अनुगमन अधिकृतसमक्ष कुल १,०७६ उजुरी परेकोमा १,०६१ उजुरी फछर्यौट गरिएको आयोगले जानकारी दिएको छ, जुन झण्डै ९९ प्रतिशत हो।

प्रदेशगत रूपमा सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशमा २४४ परेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित थिए भने ९७९ उजुरी टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए।

आयोगका अनुसार सबैभन्दा धेरै उजुरी तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको विषयमा परेका छन्। साथै सामाजिक सञ्जालको दुरुपयोग, माइक प्रयोगबाट ध्वनि प्रदूषण, शिक्षक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगिएको तथा अनुमति नलिएका गाडी प्रयोग गरिएको जस्ता विषयमा पनि उजुरी आएका छन्।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई पुनः आग्रह गरेको छ।

सम्बन्धित समाचारसबै