काठमाडौँ । निर्वाचन आयोगले चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्न माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमार्फत बिहीबारसम्म कुल ४ हजार ३८ प्रश्न तथा जिज्ञासा प्राप्त भई समाधान गरिएको जनाएको छ। टेलिफोन र भ्वाइस मेलमार्फत आएका यी जिज्ञासामा मतदाता नामावली, आचारसंहिता र मतदान प्रक्रियाबारे सर्वसाधारणले जानकारी मागेका थिए।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये १ हजार ९ सय ५८ मतदाता नामावलीसँग सम्बन्धित, ३ सय ८६ निर्वाचन आचारसंहितासम्बन्धी, १ सय ५७ मतदाता शिक्षासम्बन्धी र १ हजार १ सय ११ अन्य विषयका रहेका छन्। कुल जिज्ञासामध्ये ४ सय २६ भ्वाइस मेलमार्फत प्राप्त भएका थिए।
मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जनचेतना फैलाउने उद्देश्यले आयोगको स्वीकृत कार्यक्रमअनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका सबै वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ। स्वयंसेवकहरूले बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व र मतदान विधिबारे जानकारी दिइरहेका छन्।
डिजिटल माध्यमबाट मतदाता शिक्षा प्रवर्द्धन गर्न निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ४ सय ७० सामग्री उत्पादन गरी स्वीकृत गराएको छ। ती सामग्री आयोगका आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरिएका छन्।
आयोगका अनुसार यस्ता सचेतनामूलक सामग्रीले निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्नुका साथै नागरिकलाई आधिकारिक र विश्वसनीय सूचना उपलब्ध गराउन तथा भ्रमपूर्ण सूचनाको प्रभाव घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्याइसकिएको जनाएको छ। चुनावका लागि १ लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम गरिएको छ भने उनीहरूका लागि देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जानकारी दिएको छ।