काठमाडौँ । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घन रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी कानुनविपरीत गतिविधि नियन्त्रण गर्न आयोग सतर्क रहेको उनले स्पष्ट पारे।
राणाका अनुसार फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। देशभर करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन् भने आवश्यक कर्मचारीसमेत खटाइएको छ। मतपत्र सबै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको र मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको उनले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारसँग प्रभावकारी समन्वय भइरहेको उनले बताए। गृहमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भइसकेको र सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी आवश्यक तयारी गरिएको उनको भनाइ छ।
प्रचारप्रसार उच्च विन्दुमा पुगेको उल्लेख गर्दै आयुक्त राणाले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। विगतमा भौतिक रूपमा हुने उल्लङ्घन घटे पनि सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआइ) को दुरुपयोग बढेको उनको टिप्पणी छ। त्यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल प्लेटफर्म र साइबर सुरक्षा निकायसँग समन्वय गरिएको उनले बताए।
मतदाता शिक्षालाई यसपटक प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै उनले घरदैलो कार्यक्रममार्फत स्वयंसेवक परिचालन गरिएको र डिजिटल माध्यमबाट समेत सचेतना अभियान सञ्चालन भइरहेको बताए। यसले बदर मत घटाउन सहयोग पुग्ने अपेक्षा आयोगले गरेको छ।
मतदान व्यवस्थापनका सन्दर्भमा एक हजारसम्म मतदाता भएको स्थानमा एक मतदान केन्द्र र सोभन्दा बढी भएमा थप केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामी मतदातालाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ।
मतगणनालाई छिटो बनाउन आवश्यक जनशक्ति बढाइएको उल्लेख गर्दै उनले म्यानुअल प्रणालीमै गणना हुने भए पनि व्यवस्थापन सुधार गरेर ढिलाइ हुन नदिने प्रयास गरिएको बताए।
अन्त्यमा आयुक्त राणाले यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेको महत्वपूर्ण अवसर भएकाले योग्य उम्मेदवार छनोट गरी अनिवार्य रूपमा मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरे।