प्रेस काउन्सिल नेपालको आग्रह: चुनाव प्रभावित पार्ने सामग्री सम्प्रेषण नगर्न सचेत

0 Shares

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनको संवेदनशील समयमा मतदातालाई दिग्भ्रमित पार्ने वा चुनावी प्रक्रियामा असर पुर्‍याउने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

काउन्सिलको हिजो बसेको बैठकले चुनावलाई प्रभाव पार्ने, राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पार्ने, निष्पक्ष मतदानमा बाधा पुग्ने तथा मतदातालाई भ्रममा पार्ने किसिमका विश्लेषणात्मक सामग्री सम्प्रेषण नगर्न सचेत गराएको हो। साथै विदेशी सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित भई चुनावलाई प्रभावित पार्न सक्ने सामग्रीसमेत प्रकाशन–प्रसारण नगर्न ध्यानाकर्षण गराइएको छ।

बैठकले चुनावको मुखैमा केही विदेशी सञ्चारमाध्यमले वृत्तचित्रका नाममा चुनावलाई प्रभाव पार्ने सामग्री सम्प्रेषण गरेको विषयप्रति चासो व्यक्त गरेको छ। विशेषगरी BBC विदेशबाट सञ्चालित हुने भएकाले त्यसबाट प्रसारित सामग्रीको नियमन काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र नपर्ने निष्कर्ष निकालिएको छ।

यस सन्दर्भमा कूटनीतिक माध्यमबाट आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ। काउन्सिलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिम्मेवार र तथ्यपरक पत्रकारितामा जोड दिएको छ।

सम्बन्धित समाचारसबै