संखुवासभा । मकालु गाउँपालिका–५ र वडा नं २ जोड्ने बेलीब्रिज भाँचिँदा नुम सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको उक्त बेलीब्रिज आज बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन्।
ठूला सवारीसाधन तार्दा पुल गाडीसहित भाँचिएको हो। पुल भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक अरुण नदीमा खसेको र दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार पश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ।
पुल भाँचिएको ट्रक निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक भएको जानकारी दिइएको छ। यस घटनापछि नुम सेदुवा सडकखण्डमा आवतजावत ठप्प भएको छ। उक्त मार्ग मकालु बेसक्याम्प जाने प्रमुख मार्ग भएकाले स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ।
पुल मर्मत तथा वैकल्पिक व्यवस्थाका लागि कासुवा हाइड्रोपावरसँग समन्वय भइरहेको र तत्काल सम्भावित मर्मत कार्यमा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।