रुखमा बाँधेर देश नबन्ने, देश निर्माणमा स्पष्ट योजना र मेहनत जरुरी:विश्वप्रकाश शर्मा

0 Shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश निर्माणका लागि केवल आलोचना र उत्तेजनामा भाषण गर्नु पर्याप्त नभएको भन्दै योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक भएको बताएका छन्।

गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा शर्माले रास्वपा नेता बालेन शाहलाई लक्षित गर्दै प्राविधिक जनशक्ति, इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई अपमान गर्ने शैली गलत भएको टिप्पणी गरे। उनले भने, “रुखमा बाँधेर देश नबन्ने, देश बनाउन सोच, संकल्प र मेहनत चाहिन्छ।”

उहाँले नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको जानकारी दिंदै, पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको उदाहरण प्रस्तुत गरे। अब दिन रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै सकिने सम्भावना रहेको उनले बताए।

शर्माले नेपालमा प्रचलित “सूर्य अस्त, नेपाल मस्त” भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा जोड दिए। देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुल्मी–१ का प्रतिनिधि सभा उम्मेदवार डा. चन्द्र भण्डारीलगायत प्रदेश र जिल्ला स्तरका नेताहरूले पनि सम्बोधन गरेका थिए।

सम्बन्धित समाचारसबै