काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन र फागु पूर्णिमा (होली) सँगै लामो सार्वजनिक बिदा परेको कारण काठमाडौँ उपत्यकाबाट करिब ८ लाख मानिस बाहिरिने अनुमान गरिएको छ। सरकारले फागुन २०, २१ र २२ गते निर्वाचनका लागि बिदा दिएको छ भने फागुन १८ र १९ गते पहाड–तराईमा फागु पूर्णिमाको अवसरमा बिदा परेको छ।
त्यसैगरी फागुन २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकोले फागुन १८ देखि २४ गतेसम्म लगातार सात दिन सार्वजनिक बिदा हुने भएको छ। यस अवसरमा धेरैले दसैं–तिहार जस्तै उपत्यका छाडेर गाउँ जाने तयारी गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार फागुन १७, १८ र १९ गते लामो दूरीका सार्वजनिक यातायातमा अत्यधिक चाप रहेको छ र धेरैले गाडी रिजर्भ समेत गर्न थालेका छन्।
लामो बिदा र निर्वाचनको माहोलले गर्दा यातायात क्षेत्रमा चाप बढेपछि व्यवसायीहरूले थप सवारी साधनको व्यवस्थापनमा ध्यान दिएका छन्। निर्वाचनमा सहभागी हुन र चाडपर्व मनाउन जानेहरूको लर्कोले गर्दा आगामी हप्तामा उपत्यका सुनसान हुने देखिएको छ।