काठमाडौँ । हर्कराज राई (हर्क साम्पाङ)ले युवालाई हिंसात्मक गतिविधिमा उक्साउने राजनीति स्वीकार्य नहुने बताएका छन्। शनिबार राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले कहिल्यै पनि युवालाई ढुंगा हान्न नभन्ने स्पष्ट पारे।
देश निर्माणका लागि आवश्यक परे ढुंगा बोक्न भने भन्न सकिने उल्लेख गर्दै उनले युवाको ऊर्जा सकारात्मक काममा प्रयोग हुनुपर्ने बताए। युवालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति खतरनाक भएको उनको भनाइ थियो।
उनले राजनीतिक संरक्षणको नाममा युवालाई कुटपिट र हिंसामा उक्साउने संस्कारको आलोचना गर्दै यस्तो प्रवृत्तिले समाजलाई हिंसात्मक दिशातर्फ धकेल्ने चेतावनी दिए। “आज कुट्न लगाइन्छ, भोलि गम्भीर हिंसा हुन्छ र अन्ततः युवाकै भविष्य नष्ट हुन्छ,” भन्ने आशय व्यक्त गर्दै उनले जिम्मेवार राजनीति आवश्यक रहेको बताए।
युवालाई ‘राजनीतिक गुन्डा’ बनाउने प्रवृत्तिविरुद्ध खबरदारी आवश्यक रहेको उल्लेख गर्दै साम्पाङले राष्ट्र निर्माणमा युवाको भूमिका सकारात्मक, सृजनात्मक र अनुशासित हुनुपर्नेमा जोड दिए।