काठमाडौँ । अमेरिका,इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वी आकाश प्रभावित हुँदा त्यसको प्रभाव नेपालसम्म परेको छ । शनिबार मात्रै नेपालका १८ अन्तर्राष्ट्रिय उडान रद्द हुँदा करिब तीन हजार यात्रु प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार खाडी क्षेत्रका प्रमुख गन्तव्यतर्फ हुने उडानहरू स्थगित भएका हुन् । नेपाल एयरलाइन्सका काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई गरी तीन उडान रद्द हुँदा करिब ५०० यात्रु प्रभावित भए ।
त्यसैगरी कतार एयरलाइन्सका चार उडान रद्द हुँदा करिब ८००, फ्लाइ दुबईका चार उडान रद्द हुँदा करिब ६०० तथा एयर अरेबियाका शारजाह जाने दुई उडानबाट करिब ३०० यात्रु प्रभावित भएका छन् ।
यस्तै, हिमालय एयरलाइन्सका दमामतर्फका तीन उडानमा करिब ५०० र कुवेत जाने दुई उडानमा करिब ३०० यात्रु असरमा परेका छन् । उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीड लागेको थियो । धेरैजसो यात्रु घण्टौँ प्रतीक्षा गरेर घर फर्किएका थिए ।
विश्वकै व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि अस्थायी रूपमा बन्द भएको छ । इरानले ड्रोन आक्रमण गरेपछि विमानस्थलमा क्षति पुगेको जनाइएको छ ।
प्राधिकरणका अनुसार कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी तथा साउदी अरबका दमाम र रियाद विमानस्थल बन्द रहेकाले आइतबार पनि करिब १४ उडान रद्द हुन सक्ने सम्भावना छ ।
यद्यपि टर्किस एयरलाइन्सले भने आफ्नो उडान उत्तरतर्फबाट रि–रूट गरी नियमित सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ । यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर थप जानकारी लिन आग्रह गरिएको छ ।