काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान दिन अत्यावश्यक सेवा तथा विशेष प्रयोजनका सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा फागुन २१ गते हुने मतदानको दिन सवारी सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र सेवा–मैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार यस्तो व्यवस्था गर्न अनुरोध गरिएको जनाएको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी ट्यांकर, दूध, फलफूल, तरकारी, माछामासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी, दूरसञ्चार, विद्युत्, खानेपानी र ढल मर्मतमा प्रयोग हुने सवारी तथा अस्पताल सेवासँग सम्बन्धित सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गर्न भनिएको छ। यसमा चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका सवारी पनि समावेश छन्।
त्यस्तै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु ओसार्ने सवारी (विमानस्थलदेखि घर वा होटलसम्म र विपरीत दिशा), हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साना बच्चासहितका महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक वा मतदाता र उनीहरूको एक जना सहयोगी बोकेका सवारीलाई पनि पास आवश्यक नपर्ने प्रस्ताव गरिएको छ।
यसैगरी कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारी, आयोगबाट जारी परिचयपत्र भएका पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीलाई समेत पास नचाहिने व्यवस्था गर्न आग्रह गरिएको छ।
सवारी आवागमन व्यवस्थापनका लागि आयोग परिसरमा गृहमन्त्रालय, आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित एकीकृत ‘सवारी आवागमन डेस्क’ सञ्चालनमा रहेको छ। उक्त डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा आवश्यक सवारी पास जारी भइरहेको आयोगले जनाएको छ।