काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा अवस्थाबारे जानकारी लिन उनी आज नेपालगञ्ज पुगेका हुन्।
बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले नागरिकलाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। स्वच्छ, शान्तिपूर्ण र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने उल्लेख गर्दै उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे।
जिल्लास्थित सुरक्षा प्रमुखहरूसँग छलफलपछि उनले सुरक्षा रणनीति सुदृढ बनाइएको जानकारी दिए। निर्वाचन सुरक्षासम्बन्धी समग्र तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतलगायत निकायबीच प्रभावकारी समन्वय भएको बताए।
देशभर निर्वाचनको माहोल सकारात्मक बनेको उल्लेख गर्दै उनले व्यापक जनसहभागितासहित शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे।
अर्को प्रसङ्गमा गृहमन्त्री अर्यालले बाँके जिल्लामा कायम धार्मिक सहिष्णुताको प्रशंसा गर्दै सामाजिक सद्भाव कायम राख्न स्थानीय नेतृत्व सफल भएको बताए। उनले विभाजनकारी गतिविधि गर्ने तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्नु आवश्यक रहेको पनि उल्लेख गरे।