काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली)का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
सोमबार जारी शुभकामना सन्देशमार्फत उनले होली पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना थप मजबुत बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्बोधन गर्दै उनले होलीले समाजमा विद्यमान विकृति, विसंगति र कुरीतिहरूको अन्त्य गर्न प्रेरणा दिनुपर्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै सामाजिक मेलमिलापलाई अझ सुदृढ बनाउने अवसरका रूपमा यस पर्वलाई लिन आग्रह गरेका छन् । उनका अनुसार असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने होलीले वैरभाव त्यागेर प्रेम र आत्मीयताको सम्बन्ध विस्तार गर्ने सन्देश दिन्छ ।
आफन्तजन र साथीसंगीसँग अबिर तथा रंग साटासाट गर्दै खुसी साट्ने परम्पराले नेपाली समाजमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै आएको उनले उल्लेख गरेका छन् । नेपाली समाज जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहे पनि यही विविधताबीचको एकता नै राष्ट्रिय पहिचान र सौन्दर्य भएको उनको भनाइ छ ।
होलीमा प्रयोग हुने अनेक रंगहरू जस्तै समाजका विविध स्वरूपहरूबीचको समन्वय र सहअस्तित्व नै नेपाली सभ्यता र संस्कृतिको बलियो आधार भएको उनले बताएका छन् । हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै देशभर हर्षोल्लासका साथ मनाइने होली पर्व चिर ठड्याएर सुरु हुने र पूर्णिमाको राति चिर दाहसँगै समापन हुने परम्परा छ ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सबैलाई सभ्य र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेका छन् ।