आज मध्यरातिदेखि मौन अवधि लागू, ४८ घण्टा प्रचार पूर्ण निषेध

0 Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर चुनावी सरगर्मी चरममा पुगेका बेला आज (सोमबार) मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। कानुनी व्यवस्थाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने यो अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ। साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताको मतदान प्रक्रिया पूरा नभएसम्म मौन अवधि जारी रहने प्रावधान छ।

निर्वाचनको अन्तिम घडीसम्म राजनीतिक दल र उम्मेदवारहरूले सभा, अन्तरक्रिया, घरदैलो तथा सामाजिक सञ्जालमार्फत प्रचारलाई तीव्रता दिएका छन्। तर, मध्यरातिपछि यस्ता सबै गतिविधि पूर्ण रूपमा निषेध हुनेछन्। मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, पदाधिकारी वा भ्रातृ संगठनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्ने, प्रचार सामग्री वितरण गर्ने वा समर्थन विरोधमा अभिव्यक्ति दिन पाउने छैनन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को बुँदा १७ मा मौन अवधिसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम आयोजना गर्न रोक लगाइएको छ। सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य प्लेटफर्ममार्फत उम्मेदवार वा दलको पक्ष विपक्षमा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया जनाउन पनि निषेध गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार पारिएका प्रचार सामग्रीसमेत प्रतिबन्धित रहनेछन्।

आयोगले मतदानस्थलको तीन सय मिटर वरपर राखिएका पोस्टर, ब्यानर, झण्डालगायत प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। उल्लंघन गरेमा कारबाही हुने चेतावनी दिइएको छ। साथै मौन अवधिमा गोप्य रूपमा मतदातालाई प्रभावित पार्ने प्रयास हुनसक्ने आकलन गर्दै सुरक्षा निकायलाई विशेष निगरानी बढाउन भनिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३को दफा २३ अनुसार मौन अवधि उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना र उम्मेदवारी रद्दसम्म हुनसक्ने व्यवस्था छ। दफा २४ को उपदफा (५) ले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नहुने स्पष्ट उल्लेख गरेको छ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन अन्तर्राष्ट्रिय सिमाना पनि अस्थायी रूपमा बन्द गरिनेछ। सुरक्षा निर्देशिकाअनुसार मतदानअघि ७२ घण्टा सिमाना बन्द गर्ने प्रावधान रहेकाले गृह प्रशासनले सीमा क्षेत्रमा कडाइ बढाएको जनाएको छ। सीमापारबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा संयन्त्र परिचालन गरिएको छ।

देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ। संवेदनशील र अति संवेदनशील केन्द्रमा थप सुरक्षाकर्मी खटाइएको छ भने मतदान सामग्री समयमै सम्बन्धित स्थानमा पुर्‍याइसकिएको आयोगले जनाएको छ।

आयोगका अनुसार मौन अवधिको मूल उद्देश्य मतदातालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्णय लिन वातावरण सिर्जना गर्नु हो। अन्तिम समयमा हुने आरोप प्रत्यारोप, तनाव वा सम्भावित झडप रोक्दै शान्त र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउन मौन अवधिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै