होलीको रौनकले रंगियो काठमाडौं, देशभर उत्साहका साथ पर्व मनाइँदै

0 Shares

काठमाडौं । नेपालीहरूको हर्षोल्लास र उमंगको पर्व होली आजदेखि देशभर मनाउन सुरु गरिएको छ। बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा रंग खेल्दै, शुभकामना साटासाट गर्दै पर्वको उल्लास देखिएको छ।

फागु पूर्णिमाका दिन मनाइने यो पर्व यस वर्ष पनि उत्साहपूर्ण वातावरणमा मनाइँदै छ। वसन्तपुर दरबार क्षेत्रमा होली खेल्न मानिसहरू भेला हुन थालेका छन् भने टुँडिखेललगायत खुला स्थानहरूमा पनि उपस्थितिको चहलपहल बढ्दो छ। वसन्तपुर क्षेत्रमा एक साताअघि ठड्याइएको चीरको पूजा गर्न भक्तजनको भीड लागेको छ।

परम्पराअनुसार फागु पूर्णिमाको दिन पहाडी भूभागमा होली मनाइन्छ भने तराईका जिल्लाहरूमा भोलिपल्ट रंग खेल्ने चलन रहेको छ। असत्यमाथि सत्यको विजयको प्रतीक तथा सामाजिक एवं पारिवारिक एकताको सन्देश बोकेको यो पर्व आपसी प्रेम, सद्भाव र मेलमिलाप बढाउने अवसरका रूपमा लिइन्छ।

एक अर्कालाई अबिर र रंग दलेर खुसी साटासाट गर्ने परम्पराले शहरका सडक, चोक र सार्वजनिक स्थलहरू रंगीन बनेका छन्। काठमाडौंका विभिन्न क्षेत्रमा देखिएको होलीको रौनकले सम्पूर्ण वातावरणलाई उत्सवमय बनाएको छ।

सम्बन्धित समाचारसबै