मतदान केवल अधिकार होइन, भविष्यको निर्णय हो: प्रधानमन्त्री सुशीला कार्की

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण मतदातालाई अनिवार्य रूपमा मतदान गरी देशको भविष्य निर्माणमा योगदान पुर्‍याउन आह्वान गरेकी छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देश पुनः ऐतिहासिक मोडमा पुगेको उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनको आवश्यकता औँल्याइन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिबाट मुलुकलाई संविधानको मार्गमा फर्काउँदै स्थिरता र विधिको शासन स्थापित गरेको बताइन्। मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने काम नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णयको रूपमा व्याख्या गर्दै उनले भनिन्, “फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्नुहोस्।”

निर्वाचनको पूर्वसन्ध्यामा शान्ति कायम राख्न, स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न र मनमुटाव तथा वैमनस्य नहुने वातावरण बनाउन प्रधानमन्त्रीले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई संयमित व्यवहार गर्न अपिल गरिन्। मौन अवधिको पालना र प्रचारप्रसारमा अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने उनले दोहोर्याइन्।

सरकारले निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूसँग समन्वय गर्दै निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले चारवटै सुरक्षा संयन्त्र परिचालन भएको जानकारी दिइन्। साथै सामाजिक सञ्जालमा फैलाइने भ्रामक र तथ्यहीन सामग्रीप्रति सतर्क रहन र कानुनबमोजिम कारबाही गर्न सरकारको अडान दोहोर्याइन्।

साथै होली (फागु पूर्णिमा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले संयमित र सभ्य ढङ्गले पर्व मनाउन आग्रह गरिन्। “कसैको इच्छाविपरीत रङ नलगाऔँ,” उनले सबैमा अपील गरिन्।

सम्बन्धित समाचारसबै