काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएका झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४ लाई सुरक्षा निकायले विशेष निगरानीमा राखेका छन्। ती क्षेत्रमा हेभिवेट उम्मेदवारबीच कडा प्रतिस्पर्धा, शीर्ष नेतृत्वको प्रतिष्ठासँग जोडिएको परिणाम तथा विगतका राजनीतिक गतिविधिको पृष्ठभूमिका कारण सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार मतदान प्रक्रियामा कुनै अवरोध नआओस्, मतदातामा भय नफैलियोस् तथा उम्मेदवार र कार्यकर्ताबीच सम्भावित तनाव नियन्त्रणमा रहोस् भन्ने उद्देश्यले अतिरिक्त सुरक्षा बल परिचालन गरिएको छ। सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन र निगरानीलाई समेत तीव्र बनाइएको छ।
सुरक्षा विश्लेषणका आधारमा दुवै निर्वाचन क्षेत्रलाई “उच्च सुरक्षा जोखिम” श्रेणीमा राखिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका इकाइहरूलाई भर्चुअल निर्देशन दिँदै उच्च समन्वय, सक्रिय गस्ती र सूचनाको द्रुत प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्।
झापा–५ मा थप २२ वरिष्ठ प्रहरी अधिकृतसहित कुल ७७८ जना अतिरिक्त प्रहरी खटाइएको छ। यसबाहेक सशस्त्र प्रहरी बल, निर्वाचन केन्द्रित सुरक्षा टोली तथा आवश्यक परे नेपाली सेनाको सहकार्यसमेत रहने गरी बहुस्तरीय सुरक्षा घेरा तयार गरिएको छ।
त्यस्तै, सर्लाही–४ मा २५ वरिष्ठ अधिकृत, ११९ कनिष्ठ अधिकृत र ६४८ अन्य प्रहरी गरी ७९२ अतिरिक्त जनशक्ति परिचालन गरिएको छ। यहाँ पनि सशस्त्र प्रहरी र विशेष सुरक्षा टोलीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ।
मौन अवधिमा मतदाता प्रभावित पार्ने प्रयास, आर्थिक चलखेल, समूहगत प्रदर्शन वा अप्रिय घटनाको सम्भावनालाई न्यूनीकरण गर्न गस्ती, निगरानी र सूचनाको विश्लेषणलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ। सादा पोसाकका सुरक्षाकर्मीलाई स्थानीय गतिविधि, सम्भावित उक्साहट तथा संवेदनशील घटनाक्रमबारे सूक्ष्म रूपमा निगरानी राख्न निर्देशन दिइएको छ।
हालसम्म प्रत्यक्ष सुरक्षा चुनौती नदेखिए पनि “घटना हुन नदिनु नै प्राथमिकता” भन्ने रणनीतिअनुसार पूर्वतयारी कडा पारिएको सुरक्षा अधिकारीहरूको भनाइ छ। मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थल र नतिजा घोषणा चरणसम्मको समग्र सुरक्षा योजना तयार पारिएको छ।
निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्रले स्थानीय प्रशासन, राजनीतिक दल तथा उम्मेदवारहरूसँग समन्वय बढाएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा झापा र सर्लाही राजनीतिक मात्र होइन, सुरक्षा व्यवस्थापनका दृष्टिले पनि देशकै केन्द्रबिन्दु बनेका छन्।