काठमाडौंमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा फेला

0 Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरु भएसँगै काठमाडौंका दुई स्थानमा सवारी साधनमा आगजनी भएको घटना सार्वजनिक भएको छ। मंगलबार बिहान सुकेधारा र नैकाप क्षेत्रमा पार्किङमा राखिएका दुई गाडीमा आगो लागेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको हो। बिहान करिब ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

प्रहरीका अनुसार आगजनी गरिएका सवारी साधनभित्र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सम्बन्धी पर्चा फेला परेको छ। ‘बिहान ३ बजे आसपास आगजनी भएको देखिन्छ। गाडीभित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,’ एसपी भट्टराईले भने, ‘सवारीधनीले हालसम्म औपचारिक जानकारी गराउनुभएको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।’

यसैबीच, दुर्गा प्रसाईंलाई  फागुन १७ गते भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई पाँच दिन हिरासतमा राख्न प्रशासनबाट अनुमति लिइएको प्रहरी स्रोतले जनाएको छ।

निर्वाचनको मौनअवधिमा यस्ता गतिविधि हुनु गम्भीर विषय भएको भन्दै प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको बताए । आगजनीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ भने घटनास्थल आसपासका सीसीटीभी फुटेजसमेत परीक्षणमा राखिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारसबै