इलेक्शन इपिसेन्टर’ झापामा कडा सुरक्षा: ९ हजार सुरक्षाकर्मी परिचालन

0 Shares

झापा । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। देशकै ध्यान केन्द्रित भएको यस जिल्लामा प्रभावशाली उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेकाले स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलता उच्च बनाउँदै करिब ९ हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको एकीकृत सुरक्षा संयन्त्र परिचालन गरिएको छ। झापा र इलाम जिल्लाको सुरक्षा समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा ठूलो संख्यामा जनशक्ति खटाएको छ।

झापाका २८५ मतदानस्थलमध्ये ९५ वटालाई अतिसंवेदनशील, १४७ वटालाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा वर्गीकरण गर्दै सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार मतदानस्थलमा तीन तहको सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना तैनाथ रहनेछन्।

‘संयुक्त गस्ती र नियमित पेट्रोलिङ तीव्र पारिएको छ। नागरिकहरू ढुक्क भएर मतदान गर्न आउन सक्नुहुन्छ, सुरक्षाको पूर्ण प्रत्याभूति छ,’ प्रमुख जिल्ला अधिकारी गेलालले बताए। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार अन्य समयको तुलनामा निर्वाचनमा दोब्बर प्रहरी परिचालन गरिएको छ।

यसपटक झापा प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षणको केन्द्र बनेको छ। झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली र बालेन्द्र शाह बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। दुवै पक्षले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा छन्। साथै राजेन्द्र लिङ्देन पनि झापाबाट उम्मेदवार रहेकाले यहाँको चुनावी माहोल थप तातिएको छ।

बिहीबार हुने मतदानका लागि सबै २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा आवश्यक कर्मचारी र निर्वाचन सामग्री सोमबार साँझसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार मंगलबारदेखि मतदान केन्द्र सज्जा र व्यवस्थापनको काम तीव्र पारिएको छ।

झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्, जसमा यसपटक ५० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन सञ्चालनका लागि ४ हजार ९४५ स्थायी कर्मचारी र २ हजार ४४५ स्वयंसेवक खटाइएको छ।

विगतमा ६५ देखि ७० प्रतिशतसम्म मात्र मतदान भएको झापामा यसपटक ९० प्रतिशत मतदान गराउने लक्ष्यसहित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइएको निर्वाचन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारसबै