विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा कोशी अस्पताल ले आकस्मिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष सुरक्षा र उपचार तयारी अघि बढाएको छ। निर्वाचनका दिन भीडभाड, लामो लाइन, थकान तथा सम्भावित दुर्घटनाका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने आँकलन गर्दै अस्पतालले ९ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीका अनुसार लोकतान्त्रिक अभ्यासका रूपमा रहेको निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। “निर्वाचनजस्तो संवेदनशील समयमा आकस्मिक समस्या देखिए तत्काल उपचार सेवा दिन हामी पूर्ण तयारी अवस्थामा छौँ,” उनले बताए।
गठित टोलीको संयोजक वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. यज्ञराज खरेल रहेका छन्। टोलीमा डा. मञ्जु यादव, डा. रवि बास्ताकोटी, डा. नवीन सुवेदी, डा. दिवसराज भण्डारी, डा. शन्निकुमार सोनी, डा. पुरनचन साह तथा कर्मचारी बद्री बस्नेत र अमित झा सदस्यका रूपमा रहेका छन्। विभिन्न विधामा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहभागिताले आकस्मिक सेवा थप प्रभावकारी हुने अस्पताल प्रशासनको विश्वास छ।
निर्वाचनका दिन मतदान केन्द्रहरूमा मतदाताको चाप बढ्ने, सुरक्षाकर्मी तथा कर्मचारीहरू लामो समय ड्युटीमा खटिनुपर्ने, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्या भएका नागरिकहरू लामो समय लाइनमा बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले स्वास्थ्य जटिलता देखिन सक्ने सम्भावना रहेको चिकित्सकहरूले औंल्याएका छन्। यसबाहेक सडक दुर्घटना, झैझगडा वा लडेर घाइते हुने जस्ता घटना हुन सक्ने अनुमान पनि गरिएको छ।
यस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै र्यापिड रेस्पोन्स टिम २४सै घण्टा तयारी अवस्थामा रहनेछ। अस्पतालले आवश्यक औषधि, अक्सिजन, जीवनरक्षक उपकरण, आकस्मिक शल्यक्रिया कक्ष र इमर्जेन्सी बेडको व्यवस्था मजबुत बनाएको जनाएको छ। आपतकालीन कक्षमा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ भने एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको छ।
टोलीका संयोजक डा. खरेलले निर्वाचन अवधिमा सामान्य लक्षणलाई समेत बेवास्ता नगर्न आग्रह गरेका छन्। टाउको दुख्ने, छाती दुख्ने, अत्यधिक थकान वा बेहोस हुने जस्ता समस्या देखिए ढिला नगरी स्वास्थ्य परीक्षण गराउन उनले सुझाव दिएका छन्।
अस्पताल प्रशासनका अनुसार मतदान र त्यसपछिको मतगणना प्रक्रिया सम्पन्न नभएसम्म टोली सक्रिय रहनेछ। आवश्यक परे नजिकका स्वास्थ्य चौकी तथा निजी स्वास्थ्य संस्थासँग पनि समन्वय गरिने योजना छ।
लोकतन्त्रको महत्वपूर्ण अवसरमा स्वास्थ्य क्षेत्रले पनि उच्च सतर्कता अपनाएको सन्देश दिन खोजिएको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डा. चौधरीका अनुसार सबै स्वास्थ्य संस्थाले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे निर्वाचन अझ सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पुग्नेछ।