धनुषा–४ मा स्वतन्त्र उम्मेदवार पक्राउ

0 Shares

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट नगद रकम बाँड्दै गरेको आरोपमा एक स्वतन्त्र उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ। घटनास्थलबाट अन्य तीन जना भने फरार भएका छन्।

पक्राउ पर्नेमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका राजकिशोर महरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो। प्रहरी टोली पुगेपछि उनीसँगै रहेका तीन जना व्यक्ति भाग्न सफल भएका थिए।

प्रहरीले घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ। साथै आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरी पनि फेला परेको बताइएको छ, जसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका उम्मेदवार महरा र प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित समाचारसबै