काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन बुधबार राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ। मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको हो।
निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सवारी आवागमन नियन्त्रण गर्न सरकारलाई सिफारिस गरिएको र सोही आधारमा राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म रोक लगाइएको निर्वाचन आयोग का सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार मतदान सम्पन्न नहुन्जेलसम्म सर्वसाधारण सवारी सञ्चालनमा प्रतिबन्ध रहनेछ।
आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिएको छ। अतिआवश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधन चल्न पाउनेछन्। त्यसैगरी कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन गर्न दिइनेछ।
सूचना अधिकारी घिमिरेले अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने नागरिकलाई सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न आग्रह गरेका छन्। उनले सवारी निषेध अवधिमा समस्या परे नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गर्दै आवश्यक परे सुरक्षा निकायले आयोगसँग सहकार्य गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने बताएका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।