धनगढी । धनगढी १३ स्थित कैलाली गाउँमा दुई समूहबीच भएको झडप हिंसात्मक बन्दा दुई प्रहरी अधिकारीसहित एक स्थानीय घाइते भएका छन्। घटनापछि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख केशवबहादुर चन्दका अनुसार असई डबल साउद र वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे गम्भीर घाइते भएका छन्। स्थानीय लोकेश खत्री पनि झडपमा घाइते भएका छन्। घाइते तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल पठाइएको थियो, जहाँ साउद र खत्रीको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ करिब ६ बजे होली मनाउने क्रममा पुरानो रिसइबीका कारण दुई टोलका युवाबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको भन्दै कैलाली निर्वाचन क्षेत्र–५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुरको मतदानस्थलमा खटिएको प्रहरी टोलीलाई परिचालन गरिएको थियो। धनगढीबाट थप सुरक्षा बल पनि घटनास्थलमा पठाएको थियो।
भीड नियन्त्रणका क्रममा प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। त्यसबीच करिब तीन सय जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको थियो। आक्रमणबाट बिएसी ३४८० नम्बरको स्कार्पियो भ्यानको सिसा फुटेको छ।
घटनामा संलग्न रहेको आरोपमा धनगढी–१३ निवासी रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।