विराटनगर । कोशी प्रदेशमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश मतदान केन्द्र निर्माण, व्यवस्थापन तथा आवश्यक सामग्रीको व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ भने बाँकी सामान्य कामसमेत दिनभरिमा सकिनेछ।
उनले बिहीबार बिहानैदेखि निर्धारित समयमै मतदान सुरु हुने जानकारी दिँदै मतपेटिका, मतपत्र, कर्मचारी र सुरक्षाकर्मी परिचालन तथा सामग्री ढुवानीको कार्य सम्पन्न भएको बताए। उनका अनुसार मतदाताले सुरक्षित र व्यवस्थित वातावरणमा मतदान गर्न सक्ने अवस्था तयार भइसकेको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको छ। कोशी प्रदेशमा रहेका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय ३९ स्थल अतिसंवेदनशील, ८ सय २१ संवेदनशील र ६ सय ४७ सामान्य सूचीमा वर्गीकृत गरिएको छ।
सुरक्षा सुदृढीकरणका लागि नेपाली सेनाले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको छ। प्रदेशका विभिन्न जिल्लाका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ। सम्भावित विस्फोटक पदार्थ वा शंकास्पद गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाइएको छ।
मतदानको अघिल्लो दिनदेखि संयुक्त सुरक्षा गस्ती, चेकजाँच तथा निगरानी बढाइएको छ। प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्। जसमध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य मतदाता रहेका छन्।
विशेष परिस्थितिमा रहेका मतदातालाई लक्षित गरी २४ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो।
निर्वाचन आचारसंहिता उल्लंघनका केही घटनामा सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख दंगालले बताए। मौन अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल गतिविधि र समूहगत प्रदर्शनमाथि निगरानी बढाइएको छ।
कोशी प्रदेशका १४ जिल्लामा फैलिएका २८ निर्वाचन क्षेत्रमा ४ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख दंगालले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिएर निर्धक्क र उत्साहपूर्वक मतदान गर्न सबै मतदातासँग अपिल गरेका छन्।